आ.व. ०८१/०८२ मा यस समूहद्वारा सम्पन्न प्रमुख कार्यहरूको विवरण
क) वन संरक्षण, संवर्द्धन तथा विकास कार्यक्रम
यस आ.व.मा सामुदायिक वन क्षेत्रभित्र हुन सक्ने वन पैदावार चोरी निकासी तथा अन्य अवैध क्रियाकलाप नियन्त्रणका लागि वन हेरालु, कार्यसमिति तथा वन कार्यालयका कर्मचारीहरूको समन्वयमा नियमित दिवा तथा रात्रि गस्ती परिचालन गरिएको थियो। वन क्षेत्रभित्र अव्यवस्थित रूपमा रहेका झाडी तथा रोगी बोटबिरुवाहरू हटाई वन व्यवस्थापन पद्धतिअनुसार वनको हैसियत सुधार गर्न उपभोक्ता सदस्यहरूको प्रत्यक्ष सहभागितामा झाडी सफाइ कार्य सम्पन्न गरिएको छ।
खण्ड नं. १ (परेवाखानी वन) अन्तर्गत वन प्राविधिकको सहयोगमा ५.२३ हेक्टर क्षेत्रफलमा वन थिनिङ योजना सञ्चालन गरी विभिन्न प्रजातिका ७९२ वटा पोल कटान गरिएको छ। साथै समूहको क्षेत्रभित्र रहेका अग्निपथहरूको सफाइ तथा मर्मत कार्य सम्पन्न गरिएको र यस आ.व.मा वनलाई आगलागीबाट पूर्ण रूपमा सुरक्षित राख्न सफल भएको छ।
समयअनुसार समूहको विधान संशोधन आवश्यक भएकाले विधान संशोधन गरी श्री डिभिजन वन कार्यालय, नवलपुरबाट स्वीकृत गराई सोही बमोजिम कार्य सञ्चालन गरिएको छ।
ख) वन पैदावार सदुपयोग कार्यक्रम
यस आ.व.का लागि समूहको कार्यक्षेत्रभित्र रहेका उपभोक्ता सदस्यहरूबाट वन पैदावार माग फाराम संकलन गरिएको थियो। स्वीकृत वन कार्ययोजना तथा श्री डिभिजन वन कार्यालय, नवलपुरको सहमतिमा ढलापडा रुख साल १०९, चाँप १ र टाटरी १ गरी जम्मा ११३ वटा रुख कटान गरिएको छ।
उक्त कटानबाट साल गोलिया ६६८३.७६ घनफिट र चाँप गोलिया ३७९.४० घनफिट गरी जम्मा ७०६३.१६ घनफिट गोलिया काठ तथा १२ चट्टा दाउरा उत्पादन गरिएको थियो। उत्पादित काठमध्ये आन्तरिक रूपमा १८८.३३ घनफिट, आपूर्तिबाट १५६२.१९ घनफिट तथा आपूर्ति फिर्तासहित लिलाम प्रक्रियामार्फत ५४६०.८२ घनफिट गोलिया काठ तथा दाउरा बिक्री वितरण गरिएको छ।
त्यसैगरी खण्ड नं. १ अन्तर्गत सञ्चालन गरिएको वन थिनिङ कार्यक्रमबाट ९ चट्टा दाउरा उत्पादन गरिएको थियो। कटान तथा मुछान कार्यमा समूहका उपभोक्ता सदस्यहरूलाई प्राथमिकतामा राखी प्रति घनफिटका आधारमा पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
ग) कार्यालय सञ्चालन, सञ्चार तथा संस्थागत विकास कार्यक्रम
समूहको कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण आर्थिक कारोबार कम्प्युटर सफ्टवेयर प्रणालीमार्फत सञ्चालन गरिएको छ। साथै समूहले आफ्नो कार्यक्षेत्रभित्र एकाघर परिवार छुट्टिभिन्न भएका तथा अन्यत्रबाट बसाइँसराइ गरी आएका व्यक्तिहरूलाई नियमअनुसार सदस्यता वितरण तथा नवीकरण कार्य सम्पन्न गरेको छ।
कार्यालय सञ्चालनका लागि आवश्यक मसलन्द, स्टेशनरी सामग्री खरिद तथा छपाइ गरिएको थियो। विधान तथा कार्ययोजनाअनुसार कार्यसमितिका नियमित बैठक तथा आवश्यकता अनुसार संयुक्त बैठकहरू बसी आवश्यक छलफल र निर्णय गरिएको छ।
यस अवधिमा समूहको कार्यालयमा रङरोगन तथा मर्मत कार्य सम्पन्न गरी माथिल्लो तलामा कार्यसमिति बैठक कक्ष, भान्सा तथा अतिथि आराम कक्ष निर्माण गरिएको छ। साथै लेखा तथा प्रशासन शाखाको मर्मत तथा व्यवस्थापन गरी व्यवस्थित फाइलिङ प्रणालीसहित अध्यक्ष कार्यकक्ष निर्माण गरिएको छ।
कार्यालय तथा बैठक कक्षका लागि आवश्यक पर्दा, कार्पेट तथा विभिन्न फर्निचर सामग्री निर्माण, मर्मत तथा खरिद गरिएको छ। साथै समूहका संस्थापकहरूको तस्बिर कार्यालयमा राखी सम्मान प्रकट गरिएको छ।
घ) गरिबी न्यूनीकरण तथा जीविकोपार्जन कार्यक्रम
गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले समूहद्वारा सञ्चालित वन व्यवस्थापन कार्यहरूमा उनीहरूलाई प्राथमिकताका साथ सहभागी गराई दैनिक ज्यालादारी रोजगारी उपलब्ध गराइएको छ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। साथै उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुका साथै १०१ उपभोक्ता सदस्यहरूको परिवारमा प्रतिपरिवार ५ जनासम्मलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा प्रदान गरिएको छ।
समूहका उपभोक्ता सदस्यहरूको निधन हुँदा निजको परिवारलाई मृतक राहत उपलब्ध गराइएको छ। यसका साथै २ जना गरिब उपभोक्ता सदस्यहरूका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको छ।
गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूलाई सर्वसुलभ मूल्यमा वन पैदावार उपलब्ध गराइएको छ भने महिलाहरूका लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसम्बन्धी ३ दिने तालिम सञ्चालन गरिएको छ।
ङ) सामुदायिक विकास कार्यक्रम
समुदायस्तरमा खेलकुद विकास प्रवर्द्धन गर्न खेल आयोजना तथा खेलकुद सामग्री उपलब्ध गराइएको छ। खानेपानी व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराइएको छ।
समूहको कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरिएको छ। साथै उपभोक्ता सदस्य वा निजका घरपरिवारमा मृत्यु हुँदा दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराइएको छ।