Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

गरिब तथा विपन्न उपभोक्ता सदस्यलाई स्वरोजगार सामग्री तथा आवास हस्तान्तरण कार्यक्रम सम्पन्न

गैँडाकोट, असार २६, २०८३

यस समूहको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूको आर्थिक सशक्तीकरण तथा जीवनस्तर सुधार गर्ने उद्देश्यले स्वरोजगार प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

मिति २०८३ साल असार २६ गते समूहको सभाहलमा आयोजित विशेष कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूलाई किराना पसल व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री, मौरीसहितका घार तथा आवास हस्तान्तरण गरिएको हो।

कार्यक्रमअन्तर्गत ५ जना उपभोक्ता सदस्यलाई किराना पसल व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति रु. ६२,५०० (समूहको रु. ५०,००० तथा उपभोक्ताको रु. १२,५०० को संयुक्त लगानी) का दरले कुल रु. ३,१२,५०० बराबरको सहयोग प्रदान गरिएको छ।

त्यसैगरी ५ जना उपभोक्ता सदस्यलाई मौरी पालन व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति रु. ६२,५०० का दरले कुल रु. ३,१२,५०० बराबरको मौरीसहितका घार हस्तान्तरण गरिएको छ।

यसरी किराना पसल तथा मौरी पालन कार्यक्रममार्फत कुल रु. ६,२५,००० बराबरको लगानी गरिएको छ।

यस अवसरमा विपन्न उपभोक्ता सदस्य श्री गोपाल थापालाई रु. ३,७५,००० को लागतमा निर्माण गरिएको २ कोठे पक्की घर समेत हस्तान्तरण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले यस्ता कार्यक्रमहरूले विपन्न परिवारहरूको आयआर्जन वृद्धि, आत्मनिर्भरता तथा दिगो जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, समूहले समुदायको आर्थिक तथा सामाजिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको कार्यको प्रशंसा गर्नुभयो।

समूहका पदाधिकारी, उपभोक्ता सदस्य, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

Scroll to Top