गरिब तथा विपन्न उपभोक्ता सदस्यलाई स्वरोजगार सामग्री तथा आवास हस्तान्तरण कार्यक्रम सम्पन्न
गैँडाकोट, असार २६, २०८३
यस समूहको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूको आर्थिक सशक्तीकरण तथा जीवनस्तर सुधार गर्ने उद्देश्यले स्वरोजगार प्रवर्द्धन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
मिति २०८३ साल असार २६ गते समूहको सभाहलमा आयोजित विशेष कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा गरिब तथा विपन्न उपभोक्ता सदस्यहरूलाई किराना पसल व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री, मौरीसहितका घार तथा आवास हस्तान्तरण गरिएको हो।

कार्यक्रमअन्तर्गत ५ जना उपभोक्ता सदस्यलाई किराना पसल व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति रु. ६२,५०० (समूहको रु. ५०,००० तथा उपभोक्ताको रु. १२,५०० को संयुक्त लगानी) का दरले कुल रु. ३,१२,५०० बराबरको सहयोग प्रदान गरिएको छ।
त्यसैगरी ५ जना उपभोक्ता सदस्यलाई मौरी पालन व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति रु. ६२,५०० का दरले कुल रु. ३,१२,५०० बराबरको मौरीसहितका घार हस्तान्तरण गरिएको छ।
यसरी किराना पसल तथा मौरी पालन कार्यक्रममार्फत कुल रु. ६,२५,००० बराबरको लगानी गरिएको छ।
यस अवसरमा विपन्न उपभोक्ता सदस्य श्री गोपाल थापालाई रु. ३,७५,००० को लागतमा निर्माण गरिएको २ कोठे पक्की घर समेत हस्तान्तरण गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले यस्ता कार्यक्रमहरूले विपन्न परिवारहरूको आयआर्जन वृद्धि, आत्मनिर्भरता तथा दिगो जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, समूहले समुदायको आर्थिक तथा सामाजिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको कार्यको प्रशंसा गर्नुभयो।
समूहका पदाधिकारी, उपभोक्ता सदस्य, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।