आ.व. ०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम
१. वन संरक्षण, संवर्द्धन तथा पर्यापर्यटन विकास कार्यक्रम
समूहको वन क्षेत्रको संरक्षण, संवर्द्धन तथा विकासलाई प्रभावकारी बनाउन वन रक्षक तथा कार्यसमितिको नियमित गस्ती परिचालन गरिनेछ। वन क्षेत्रभित्र खाली रहेका स्थानहरूको पहिचान गरी विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरिनेछ। गर्मीयाममा हुन सक्ने वन डढेलो नियन्त्रणका लागि समिति, उपसमिति तथा उपभोक्ताहरूको समन्वयमा सम्बन्धित निकायसँग सहकार्य गरी सचेतनामूलक गोष्ठी तथा कार्यक्रम सञ्चालन गरिनेछ।
वन डढेलो नियन्त्रणका लागि अग्निपथ तथा फायर लाइन निर्माण र मर्मत कार्य समयमै सम्पन्न गरिनेछ। स्थानीय रेडियो, सूचना तथा सञ्चार माध्यम र माइकिङमार्फत जनचेतना अभिवृद्धि गरिनेछ भने टोलस्तरमा अग्नि नियन्त्रण उपसमिति गठन गरी सक्रिय सहभागिता गराइनेछ।
वन संरक्षण तथा संवर्द्धन कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोत–साधनको व्यवस्था गरिनेछ। वन विकास तथा डढेलो नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउने उपभोक्ताहरूलाई पुरस्कार तथा सम्मानको व्यवस्था गरिनेछ।
वन क्षेत्रभित्र रहेका बाङ्गाटिङ्गा तथा अनावश्यक लहरा हटाई लोपोन्मुख तथा बहुमूल्य प्रजातिका बिरुवाहरू संरक्षण, एक्ल्याउने तथा पत्ल्याउने कार्य गरिनेछ। भूक्षय तथा चरिचरण नियन्त्रणका लागि वृक्षरोपण तथा होर्डिङ बोर्डमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
वन संरक्षण तथा विकास कार्यलाई थप प्रभावकारी बनाउन कार्यसमिति तथा उपसमितिका पदाधिकारीहरूलाई अवलोकन भ्रमणको व्यवस्था गरिनेछ। प्राकृतिक रूपमा उम्रिएका परजीवी झाडी तथा अनावश्यक वनस्पति हटाउने, वन गोडमेल तथा झाडी सफाइ कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ।
वन अतिक्रमण नियन्त्रणका लागि वन क्षेत्रको सीमामा आवश्यक स्थानमा तारजाली लगाइनेछ। वन पैदावार तथा जंगली जनावरको चोरी–तस्करी नियन्त्रण गर्न प्रभावकारी कदम चालिनेछ र सुराकीलाई गोपनीयताका साथ बिगो रकमको २५ प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराइनेछ।
वन क्षेत्रभित्र रहेका बहुमूल्य तथा लोपोन्मुख जडीबुटी तथा पानीका मुहानहरूको संरक्षण तथा सरसफाइ गरिनेछ। वन क्षेत्रभित्र रहेका रमणीय स्थलहरूको व्यवस्थापनका लागि डिभिजन वन कार्यालय, नवलपुरको सहमतिमा अवलोकन घर, टावर, गोलघर तथा संरक्षण घर निर्माण गरिनेछ। आवश्यक स्थानमा कानुनी प्रक्रिया पूरा गरी हरित पार्क, उद्यान तथा पिकनिक स्पट निर्माण गरिनेछ।
वन क्षेत्रभित्र रहेका अग्निपथहरूको मर्मत तथा स्तरोन्नति गरिनेछ भने वन्यजन्तु तथा सिँचाइ प्रयोजनका लागि सुख्खा डाँडाकाँडामा पानी पोखरी निर्माण गरिनेछ। समूहको क्षेत्रभित्र पर्ने नदी तथा खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा नियमपूर्वक निकासी गरी स्थानीय उपभोक्ताको हितमा सदुपयोग गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
२. कार्यालय सञ्चालन तथा संस्थागत विकास कार्यक्रम
समूहको दैनिक कार्य सञ्चालन तथा आर्थिक कारोबारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन सफ्टवेयर प्रणालीलाई निरन्तरता दिइनेछ। कार्यालय सञ्चालनका लागि आवश्यक स्टेशनरी, छपाइ सामग्री तथा अन्य प्रशासनिक सामग्री खरिद गरिनेछ।
समयअनुसार नयाँ सदस्यता आवेदन, सदस्यता नवीकरण तथा वन पैदावार माग फाराम खुला गरिनेछ। कार्यालयको स्तरोन्नतिका लागि पत्रपत्रिका, इन्धन, टेलिफोन, विद्युत, सूचना तथा सञ्चार सेवाहरूलाई निरन्तरता दिइनेछ।
सम्बन्धित निकायसँग समन्वयका लागि खटिने समिति तथा कर्मचारीहरूलाई आवश्यक यातायात, इन्धन तथा सञ्चार सुविधा उपलब्ध गराइनेछ। संस्थागत विकासका लागि समिति, उपसमिति तथा उपभोक्ताहरूलाई अभिमुखीकरण, गोष्ठी तथा तालिम सञ्चालन गरिनेछ।
कार्यालय व्यवस्थापन तथा संस्थागत विकासका लागि आवश्यक फर्निचर खरिद गरिनेछ तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कार्यालय सञ्चालनलाई थप व्यवस्थित बनाइनेछ। समूहमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुका साथै वार्षिक रूपमा पोशाक तथा वर्षायाममा रेनकोट उपलब्ध गराइनेछ। निर्माणाधीन बाँकी कार्यहरू यसै आ.व.भित्र सम्पन्न गरिनेछन्।
३. आयआर्जन तथा गरिबी न्यूनीकरण कार्यक्रम
गरिब, विपन्न तथा दलित परिवारका जेहेन्दार बालबालिकाहरूलाई शिक्षा प्राप्तिमा सहयोग पुर्याउन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ। गरिब तथा विपन्न परिवारका बिरामी सदस्यहरूको उपचार सहयोग तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ।
कृषि, पशुपालन, लघु उद्यम तथा सामूहिक आयआर्जन कार्यक्रममार्फत गरिब तथा विपन्न परिवारहरूको आर्थिक अवस्था सुधार गर्न आवश्यक सहयोग गरिनेछ। गरिब तथा विपन्न परिवारका लागि आवास निर्माण तथा हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
महिलाहरू, फरक क्षमता भएका व्यक्तिहरू तथा आर्थिक रूपमा कमजोर उपभोक्ताहरूलाई सशक्त बनाउन सिपमूलक तालिम, गोष्ठी तथा भ्रमण कार्यक्रम सञ्चालन गरिनेछ। वन संरक्षणसँग सम्बन्धित दैनिक ज्यालादारी कार्यमा गरिब तथा विपन्न परिवारका उपभोक्ताहरूलाई प्राथमिकताका साथ रोजगारी प्रदान गरिनेछ।
४. सामुदायिक विकास कार्यक्रम
समूहले विगत वर्षहरूझैँ सामुदायिक विद्यालय सञ्चालनका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउनेछ। खानेपानी तथा सरसफाइ सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक आर्थिक सहयोग प्रदान गरिनेछ।
युवाहरूलाई खेलकुद तथा वन संरक्षणप्रति जागरुक बनाउन खेलकुद कार्यक्रम सञ्चालन तथा आवश्यक सहयोग उपलब्ध गराइनेछ। समूह क्षेत्रभित्र रहेका धार्मिक मठमन्दिर, गुम्बा तथा विभिन्न संघसंस्थाहरूलाई आवश्यक सहयोग गरिनेछ।
सामाजिक पूर्वाधार विकासअन्तर्गत बाटोघाटो, नाली, पुल, चौतारा तथा अन्य सामुदायिक संरचना निर्माणका लागि सहयोग रकम उपलब्ध गराइनेछ।
५. विभिन्न कार्यक्रम खर्च
समूह स्थापना कालदेखि योगदान पुर्याउँदै आएका संस्थापक कार्यसमिति तथा पदाधिकारीहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै विभिन्न संघसंस्था तथा सरकारी निकायसँग समन्वय र सहकार्य गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।
६. वन पैदावार सदुपयोग कार्यक्रम
आ.व. ०८२/०८३ मा वन क्षेत्रमा रहेका सुख्खड, सखडा तथा ढलापडा रुखहरूको लगत तथा नापजाँच गरी वन कार्यालयबाट स्वीकृति प्राप्त पश्चात् नियमानुसार संकलन तथा सदुपयोग गरिनेछ।
वन पैदावार निकासीका लागि आवश्यक औजार तथा उपकरण खरिद गरिनेछ। कटान, मुछान तथा ओसारपसार कार्यमा समूहकै उपभोक्ताहरूलाई प्राथमिकता दिई टेण्डर वा दैनिक ज्यालादारी दररेट अनुसार काममा लगाइनेछ।
वन पैदावार निकासीको क्रममा कार्यरत कामदारहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक औषधोपचार तथा बीमाको व्यवस्था गरिनेछ। निकासी कार्यमा खटिने प्राविधिक, समिति पदाधिकारी तथा सदस्यहरूलाई आवश्यक खाजा तथा भत्ताको व्यवस्था गरिनेछ। वन ऐन २०७९ अनुसार वन पैदावार बिक्री वितरण दररेट निर्धारण गरी सोहीअनुसार कार्यान्वयन गरिनेछ।
जय हरियाली । धन्यवाद ।