Deurali Ban Logo
श्री देउराली सामुदायिक वन उपभोक्ता समूह

गैंडाकोट-३, ढोडेनी, नवलपरासी पूर्व

Nepali Flag
२५औँ वार्षिक साधारण सभा सम्पन्न — २५औँ वार्षिक साधारण सभा सम्पन्न आज मिति २०८३ भदौ १६ गते मंगलबार श्री देउराली सामुदायिक वन उपभोक्ता समूहको २५औँ वार्षिक साधारण सभा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। समूहका अध्यक्ष श्री नर बहादुर मुक्मी मगर ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, नवलपुर, नवलपरासी (ब.सु.पू.) का डिभिजनल वन अधिकृत श्री विष्णु प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी गैँडाकोट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष श्री शिवकान्त तिवारी ज्यू र सब–डिभिजन वन कार्यालय, गैँडाकोटका वन अधिकृत श्री सन्तोष मिश्र ज्यूको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरू, समूहका कार्यसमिति सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरू र उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभामा समूहको वार्षिक प्रगति, वन संरक्षण तथा व्यवस्थापन, उपभोक्ताको हित, वातावरण संरक्षण, सामाजिक तथा आर्थिक विकासलगायतका विविध विषयमा छलफल गरिएको थियो। साथै आगामी दिनमा सामुदायिक वनको दिगो व्यवस्थापन, संरक्षण तथा विकासका लागि आवश्यक योजना र कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। समूहको २५औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, जनप्रतिनिधिज्यूहरू, संघ–संस्थाका प्रतिनिधिहरू, कार्यसमिति तथा उपसमितिका पदाधिकारी एवं सदस्यहरू र सम्पूर्ण उपभोक्ताहरूमा श्री देउराली सामुदायिक वन उपभोक्ता समूह हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

श्री देउराली सामुदायिक वनले निम्न कार्यहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ:-

वन संरक्षण

समूहले वन क्षेत्रको संरक्षण, संवर्द्धन तथा विकासलाई प्रभावकारी बनाउन नियमित गस्ती परिचालन, वृक्षरोपण, वन गोडमेल तथा झाडी सफाइ कार्यक्रम सञ्चालन गर्नेछ। वन डढेलो नियन्त्रणका लागि अग्निपथ तथा फायर लाइन निर्माण, जनचेतनामूलक कार्यक्रम तथा टोलस्तरीय अग्नि नियन्त्रण उपसमिति गठन गरिनेछ।

लोपोन्मुख तथा बहुमूल्य वनस्पति, जडीबुटी, पानीका मुहान तथा जैविक विविधताको संरक्षणमा विशेष प्राथमिकता दिइनेछ। वन अतिक्रमण, चोरी–तस्करी तथा चरिचरण नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, तारजाली व्यवस्थापन तथा प्रभावकारी निगरानी गरिनेछ।

वन क्षेत्रभित्र रहेका रमणीय स्थलहरूको संरक्षण तथा पर्यापर्यटन विकासका लागि अवलोकन घर, टावर, गोलघर, संरक्षण घर, हरित पार्क तथा पिकनिक स्थल निर्माणका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै वन्यजन्तु संरक्षण तथा सिँचाइ प्रयोजनका लागि पानी पोखरी निर्माण तथा अग्निपथ स्तरोन्नति गरिनेछ।

समुदाय विकास

समूहले गरिब, विपन्न, दलित, महिला तथा फरक क्षमता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि शिक्षा, स्वास्थ्य, सिपमूलक तालिम, कृषि, पशुपालन तथा आयआर्जन कार्यक्रम सञ्चालन गर्नेछ। छात्रवृत्ति, स्वास्थ्य बीमा, उपचार सहयोग तथा आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइनेछ।

सामुदायिक विद्यालय, खानेपानी, सरसफाइ, खेलकुद तथा धार्मिक–सामाजिक संस्थाहरूलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ। साथै बाटोघाटो, पुल, नाली, चौतारा तथा अन्य सामुदायिक पूर्वाधार निर्माणमा सहयोग गरिनेछ।

संस्थागत विकासका लागि समिति, उपसमिति तथा उपभोक्ताहरूलाई अभिमुखीकरण, गोष्ठी, तालिम तथा अवलोकन भ्रमण सञ्चालन गरिनेछ। कार्यालय सञ्चालनलाई पारदर्शी, प्रविधिमैत्री र व्यवस्थित बनाउन सफ्टवेयर प्रणाली तथा आधुनिक कार्यालय व्यवस्थापनलाई निरन्तरता दिइनेछ।

दिगो उपयोग

वन पैदावारको दिगो उपयोग तथा व्यवस्थापनका लागि वन क्षेत्रमा रहेका सुख्खड, सखडा तथा ढलापडा रुखहरूको नियमानुसार संकलन तथा सदुपयोग गरिनेछ। वन ऐन २०७९ अनुसार वन पैदावारको बिक्री वितरण दररेट निर्धारण गरी पारदर्शी रूपमा कार्यान्वयन गरिनेछ।

वन पैदावार निकासीका लागि आवश्यक औजार तथा उपकरणको व्यवस्था गरिनेछ भने कटान, मुछान तथा ओसारपसार कार्यमा समूहकै उपभोक्ताहरूलाई प्राथमिकता दिइनेछ। कार्यरत कामदारहरूको सुरक्षा, बीमा, औषधोपचार तथा आवश्यक सुविधा सुनिश्चित गरिनेछ।

समूह क्षेत्रभित्र पर्ने नदी तथा खोलाबाट ढुंगा, गिट्टी तथा बालुवा नियमपूर्वक निकासी गरी स्थानीय उपभोक्ताको हितमा सदुपयोग गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

सहकार्य र समर्पण

वन संरक्षण, वातावरणीय सन्तुलन तथा समुदायको समृद्धिलाई केन्द्रमा राखी समूहले सरकारी निकाय, डिभिजन वन कार्यालय, विभिन्न संघसंस्था तथा स्थानीय समुदायसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्नेछ।

वन संरक्षण तथा डढेलो नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याउने उपभोक्ताहरूलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ। संस्थापक कार्यसमिति, पदाधिकारी तथा वन संरक्षणमा समर्पित व्यक्तिहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ।

समूहले पारदर्शिता, उत्तरदायित्व, सहभागिता तथा हरियाली वातावरण निर्माणप्रति पूर्ण समर्पणका साथ दिगो वन व्यवस्थापन र समुदाय विकासमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछ।

जय हरियाली । धन्यवाद ।

Scroll to Top